सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन् ।
पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा भिन्न रहेको बताउँदै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारबाही गरेको उनले बताए ।वर्तमान सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको प्रचण्डको भनाइ थियो ।
सोमबार साँझ विपक्षी दलहरूको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद उल्लेख गर्दै प्रचण्डले भने, ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाईं र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाईंहरूले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’
सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको पनि दाहालको भनाइ थियो । सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिँदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको १०० दिन पुगेकाले सडक प्रदर्शनका कार्यक्रम अघि सार्न थालेको उनले बताए । २०७९ को निर्वाचनपछि माओवादी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएको बेलामा भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको प्रचण्डको भनाइ थियो । अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्ने पनि उनले बताए ।
सरकारले एकपछि अर्को नाजायज हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको बताउँदै प्रचण्डले विद्युत् महसुल नतिर्ने उद्योगीबाट रकम उठाउन खोज्दा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको, बाढीपहिरोपछि उद्धार, राहत र पुन:स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैंले भ्रष्टाचारीको संरक्षकका रूपमा प्रस्तुत गर्दै गएको प्रचण्डले बताए ।





प्रतिकृया दिनुहोस्