April 18, 2026, Saturday
२०८३ बैशाख ५

जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु

धनगढी। जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीका अनुसार जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो ।

निमित्त प्रमुख जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ। कैलालीका थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ । गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिइन् ।

गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको उपचार भइरहेको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।