April 18, 2026, Saturday
२०८३ बैशाख ५

रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्। उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्। 

बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए। बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घन्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए। तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट मुक्त प्रदेश सभापति विष्टले बताए।

प्रदेश सभापति विष्टले संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको जानकारी दिएका छन्। प्रदेश महामन्त्रीबाट बर्खास्त गरिएका बाहुनले भने प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गरेको बताए। नेतृत्वलाई खुसी पार्न नसक्दा महामन्त्रीबाट हटाइएको उनले बताएका छन्।

‘सुदूरपश्चिममा तपाईंको कुरामा विमति राख्नेलाई पेल्ने, कसरी हटाउन सकिन्छ भनी लागिरहने बानीसँग म र पूरै समिति अपरिचित त होइन, तर पनि सुधार गर्न सकिन्छ कि भनी लागेता पनि तपाईंका पछिल्ला गतिविधि, पदाधिकारीप्रति गरिएका व्यवहार हेर्दा तपाईंलाई सुधार गर्न सकिएन,’ उनले स्पष्टीकरणको जवाफमा भनेका छन्, ‘मेरो आठ महिनाको अनुभवमा हामीले ३ महिनाभित्र ९ वटै जिल्ला मा सक्रिय जिल्ला संयोजक बनाइसक्नुपर्ने भए पनि मात्र प्रदेश सभापतिज्यूको कारणले आठ महिना बित्दा पनि आठ वटा जिल्लामा मात्र संयोजक बनाउन सकियो। बझाङमा पाँच महिनादेखि जिल्ला संयोजकले गरेको राजीनामा पनि अड्काएर राखिएको छ।’

WhatsApp-Image-2024-08-30-at-10.08.21-AM-(1)-1724994732.jpeg