टीकापुर घटनाको ९ वर्ष पूरा, रेशम भन्छन्- राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो

धनगढी। कैलालीको टीकापुरमा भएको घटनाको आज ९ वर्ष पूरा भएको छ । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
त्यसको भोलिपल्ट रेशम चौधरीकोको घर, एफएममा आगजनी भएको थियो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी समेत भएको थियो। अहिले पनि यो घटनामा ज्यान गुमाएकाहरूले न्यायको अनुभूति गर्न सकेका छैनन् ।
२०७२ साल भदौ ७ गते आजकै दिन भएको घटनामा कैद सजायसमेत भोगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् – ‘सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन । थारु विद्रोह भएको दिन । हाम्रो श्री सम्पत्ति लुटिएको,आगजनी भएको दिन ।’
कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न नसकेको उनले बताए । उनले थप भनेका छन् -‘राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरांस गरेको हुँ । छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीको नाममा अरूले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् ।’
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पनि उक्त घटनालाई स्मरण गर्दै बिना प्रमाण निर्दोष थारु थुनिएको बताएकी छन् ।
‘आज भदौ ७ गते हामी सबै त्यो २०७२ को भदौ सात गते सम्झिन र स्मरण गर्न चाहन्छौँ ,,मानवीय क्षतिमा परी ज्यान आहुति दिएका सबैलाई हृदय देखि सम्झिन चाहन्छौँ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘सबैभन्दा बढी सम्झना त्यो अवरोध प्यारो बाबुको छ हृदयमा, एक आमा भएको नाताले पनि म भित्र मातृत्व भाव बढी भएर होला म त्यो बाबुमा आफ्नो एक मात्र छोरा प्यारो आभूषण देख्छु । त्यो घटना राजनीतिक आन्दोलन थियो र नहुनु पर्ने भयो तर बिना प्रमाण निर्दोष थारु थुनिए ।’
उनले घटना कहिल्यै नदोहोरायोस् भन्ने कामना पनि गरेकी छन् । ‘कहिले पनि भुल्न नसक्ने त्यो भाद्र ७ अब कहिल्यै पनि नदोहोरायोस्’ उनले लेखेकी छन् ।






प्रतिकृया दिनुहोस्