June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलालीको बचिलामा भारी वर्षा

धनगढी । कैलालीको बचिलामा धेरै भारी वर्षा भएको छ। पछिल्लो एक घन्टामा ४३.२ (बिहान ६ः१५ बजे) मिलिमिटर वर्षा भएको जनाइएको हो ।

कैलालीकै बलियामा ३६.४ मिलिमिटर पानी परेको छ। बर्दियाको दौलतपुरमा २६.४ मिलिमिटर पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले कैलालीका विभिन्न स्थान भएर बग्ने पथरिया, कुलरिया, जमरा लगायत साना, ठूला खोलामा बाढीको जोखिम औंल्याएको छ।

ती स्थानमा डुबानको सम्भावना रहेकाले सतर्क रहन पनि भनेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।

भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए। अहिले पनि कैलालीमा वर्षा भइरहेको छ भने साना ठुला नदीमा पानीको वहाब बढिरहेको छ। स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।

अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी छ।