सातै प्रदेशमा आज भारी वर्षा : कैलालीमा ५ सय बढी घर डुबानमा, १७ सय बढी प्रभावित

धनगढी । आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। सुदूरपश्चिम, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कैलालीमा ५ सय बढी घर डुबानमा, १७ सय बढी प्रभावित
कैलालीमा परिरहेको भीषण वर्षाले जनजीवन प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय बाढी घर डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।
भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । भजनीमा ४ सय बढी घर डुबानमा परेको उनले जानकारी दिए । हसुलिया गौरीगङ्गा सुखडमा डुबान भएको छ । कैलारीका केही परिवार वडा कार्यालयमा पसेका छन् । कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो । उनको उद्धार पछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
अहिले पनि कैलालीमा साना ठुला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ । बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ ।
होचो भू–भागमा डुबानको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले पनि नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू-भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ।





प्रतिकृया दिनुहोस्