कैलालीमा भारी वर्षा : मोहना नदीको जल सतह बढ्न सक्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

धनगढी । कैलाली जिल्लाको अधिकांश स्थानहरूमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।
विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा पछिल्लो ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ। गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कैलालीको अधिकांश स्थानहरूमा भारी वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ । भारी वर्षाका कारण मोहना र यस क्षेत्रका सबै नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू-भागहरूमा रहनेलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
अहिले देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित बारा, पर्सा, कैलाली, कञ्चनपुर, नुवाकोट, पाल्पा, पर्वत, अछाम र कञ्चनपुरमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बारा, पर्सा, स्याङ्जा, पर्वतमा चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा बाराको सिमरा मापन केन्द्रमा पछिल्लो चौबिस घन्टामा १३९ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो घन्टामा १२९.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै कोल्भीमा १०८ मिलिमिटर वर्षा मापन भएको छ। पर्साको रंगपुरमा २४ घन्टामा १६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो ६ घन्टामा १४५.२ मिलिमिटर वर्षा मापन भएको छ।
चौबीस घन्टामा कैलालीको धनगढी विमानस्थल केन्द्रमा १०२.६ मिलिमिटर वर्षा भएको छ। स्याङ्जाको पञ्चमुलमा १३०.२ मिलिमिटर, पर्वतको पञ्चासेमा ११६.२ मिलिमिटर र कार्कीनेटामा ११०.८ मिलिमिटर, कञ्चनपुरको सुन्दरपुरमा ९८.२ मिलिमिटर वर्षा मापन भएको छ।
हाल देशभर मनसुनी वायुको प्रभावले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स-साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ ।
साथै संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।







प्रतिकृया दिनुहोस्