May 3, 2026, Sunday
२०८३ बैशाख २०

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भयो भेटवार्ता, प्रधानमन्त्री मोदीलाई पनि भेट्ने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् । उनले भनिन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

परराष्ट्रमन्त्री राणा हाल भारत भ्रमणमा रहेकी छन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको यो पहिलो भ्रमण हो ।

मन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आइतबार दिल्ली पुगेकी हुन् ।

राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।