सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिने

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते (बुधवार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको जानकारी दिएका हुन।
मुख्यमन्त्री शाहले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट पत्र आएको बताए ।
‘सचिवालयमा पत्र आएको छ । मंगलबार प्रदेशसभाको बैठक पनि छ । मंगलबारको बैठकपछि बुधबार विश्वासको मतको लागि बैठक राख्ने नराख्ने निर्णय हुन्छ’, सूचना अधिकारी जैशीले बताए ।
मुख्यमन्त्री शाह गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
शाह नेतृत्वको सरकारमा अहिले काङ्ग्रेस एमालेसहित नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री शाहले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ।
नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने जनाएको छ ।





प्रतिकृया दिनुहोस्