सुदूरपश्चिम प्रदेशमा अध्यादेश जारीपछि कर सङ्कलन सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा सङ्कलनको कार्य बिहीबारबाट सुरु भएको छ । चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलन अध्यादेश जारी भएपछि बिहीबारबाट फेरि सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि कर सङ्कलनको कार्य सुरु भएको हो । अघिल्लो सरकारले बजेटसहित आर्थिक र विनियोजन विधेयक पास गर्न नसक्दा साउन १ देखि यो कार्य रोकिएको थियो ।
बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेश पारित गरेलगत्तै प्रमाणीकरण र राजपत्रमा प्रकाशितका लागि सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।
प्रदेश प्रमुख नजिर मियाँले अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए । प्रमाणीकरण र राजपत्रमा प्रकाशितपछि अध्यादेश ऐन सरहको कानुन बनेको छ । साथै राजस्व सङ्कलनको बाटो खुलेको छ ।
दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले बजेटसहित आर्थिक र विनियोजन विधेयक पास गर्न नसक्दा राजस्व सङ्लन र खर्च रोकिएको थियो । त्यसपछि प्रदेशमा देखिएको आर्थिक शून्यतालाई भङ्ग गर्नका लागि सरकारले अध्यादेशमार्फत गाँठो फुकाएको छ ।





प्रतिकृया दिनुहोस्