May 1, 2026, Friday
२०८३ बैशाख १८

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनको लागी मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

कर्णाली प्रदेसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको जानकारी दिए।

४० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन २१ सांसदको समर्थन चाहिन्छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना र एक जना स्वतन्त्र सांसद छन्।

मुख्यमन्त्री कँडेलले आइतबार केन्द्रिय सत्ता समिकरण अनुसार नेपाली कांग्रेसतर्फका प्रदेशसभा सदस्य राजीवविक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र विजया बुढा (हुम्ला)ले मन्त्री पदमा नियुक्तीगरी शपथ गराएका थिए ।

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका हुन् ।