April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहले गरे दाबी पेस, आजै नियुक्ति हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। शाह नेतृत्वमा गठन हुने सरकारलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने तयारी गरेको छ। नागरिक उन्मुक्ति पार्टीका ७ सांसद रहेका छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए।  यो समय सकिएपछि शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारीमा प्रदेश प्रमुख कार्यालय छ।