सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका शाह दोहोरिने, औपचारिक निर्णय गर्न दलको बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कमलबहादुर शाहलाई दोहोरिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाहलाई दोहोरिने भएका हुन्।
सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए।
संसदीय दलको नेता समेत रहेका शाहलाई नै मुख्यमन्त्री बनाउन देउवाले निर्देशन दिएपछि बाँकी आकांक्षीहरू सहमत भएको कांग्रेसका एक सांसदले जानकारी दिए।
दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए। उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन्।
सोही अनुसार आज कांग्रेसले शाहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने ती सांसदले जानकारी दिए। कांग्रेस, एमाले र नागरिक उन्मुक्तिका सांसदहरूको समर्थनमा शाहले आज साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
औपचारिक निर्णय गर्नका लागि कांग्रेसले आइतबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ। बैठकले मन्त्रीहरूको नाम पनि टुंगो लगाउने छ। मन्त्रीमा भने नयाँ अनुहार पठाउने तयारी कांग्रेसको छ।
यस्तै एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने निर्णय गरिसकेको छैन। दीर्घ सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री थिए।
पुराना तीन जना मन्त्री मध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना रहेको एमालेका एक सांसदको भनाइ छ।
नागरिक उन्मुक्ति पार्टीले भने आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ। नाउपाबाट लक्ष्मणकिशोर चौधरी मन्त्री बन्ने छन्।
आइतबार साँझ पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको नेताहरूले बताएका छन्।





प्रतिकृया दिनुहोस्