April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा २०७९ को निर्वाचनपछि चौथो सरकार बन्दै, को बन्ला मुख्यमन्त्री ?

धनगढी । सुदूरपश्चिम प्रदेशमा २०७९ को निर्वाचनपछि चौथो सरकारगठन हुन लागेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएसँगै चौथो सरकार गठन हुन लागेको हो ।

निर्वाचन लगत्तै एमालेका राजेन्द्रसिंह रावल २७ पुस ०७९ मा एकमहिने मुख्य मन्त्री बनेका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार ढल्दा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए । उनको सरकार २६ माघ ०७९ देखि २२ चैत ०८० सम्म कायम रह्यो ।

एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको सरकार साढे तीन महिनामा ढलेको छ । सोडारी ६ वैशाखमा मुख्यमन्त्री बनेका थिए ।

अल्पमतमा रहेका मुख्यमन्त्री सोडारीले ३० दिन गुजारेर शुक्रबार पदबाट राजीनामा दिएसँगै चौथो सरकार गठनको बाटो खुलेको हो । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा तीन दिन (आइतबार साँझ ५ बजे) भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझै आह्वान गरी सकेका छन् ।

प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशमा नयाँ सरकारको आह्वान संगै अबको दुई दिनभित्र कांग्रेस–एमाले समीकरणको सरकार बन्ने भएको छ । कांग्रेस–एमालेको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन चाहिन्छ । कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसद छन् । सात सदस्य रहेको नागरिक उन्मुक्ति पनि सरकारमा जान तयार रहेको छ ।

नयाँ सरकार गठनको प्रक्रिया सुरु भए पनि कांग्रेसले मुख्यमन्त्रीका उम्मेदवारको टुंगो लगाउन सकेको छैन । संसदीय दलका नेता कमल बहादुर शाह, सांसदहरू प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा र दिवानसिंह विष्ट बीच नेतृत्वका लागि रस्साकस्सी जारी छ ।

कांग्रेस संसदीय दलका नेता शाहले मुख्यमन्त्रीका सम्बन्धमा निर्णय भइनसकेको उल्लेख गर्दै पार्टी सभापतिले निर्णय गर्ने बताए । ‘मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय केन्द्रीय नेतृत्वले गर्छ । नेतृत्वको निर्णयअनुसार अगाडि बढ्छौँ,’ उनले भने ।

सभापति शेरबहादुर देउवाले संसदीय दलका नेता शाह र सांसद देउवामध्ये एक जनालाई मुख्यमन्त्री बनाउन सक्ने चर्चा कांग्रेस सांसदबीच छ ।