April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान, दाबी पेस गर्ने समय आइतबार ५ बजेसम्म

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेभित्र सम्मका लागी आह्वान गरेका हुन् ।

एकीकृत समाजवादीबाट निर्वाचित मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेको जानकारी दिएका हुन ।

राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा घोषणा गरेका थिए ।

सोडारीले राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनलाई सरकार बनाउन बाटो खुलेको छ । प्रदेश सभामा सम्बोधन गर्दै सोडारीले भने, ‘विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ । तर, मेरो पक्षमा विश्वासको मत छजस्तो देखिएन । विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ । म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,।’

असार ७ गते कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति बमोजिम एमालेले असार २० गते सोडारी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्योसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् । अल्पमतमा परेको २८ दिनमा उनले राजीनामा दिए ।

यसअघि सोडारीले बजेट शून्यता हुन नदिने शर्तमा मार्गप्रशस्त गर्न चाहेका थिए । सरकार अल्पमतमा परेपछि बजेट पास नहुँदा सुदूरपश्चिम सरकार राजनीतिक सङ्कटकोसाथै आर्थिक सङ्कटमा फसेको थियो ।

यद्यपि प्रदेश प्रमुख र अर्थमन्त्रीसमेत एमालेबाट भएको तथा बजेट सबै दलको साझा विषय भएकाले सहमति जुट्ने आशमा सोडारीले अल्पमतमा पर्दासमेत आफ्नो सरकारलाई लम्ब्याउँदै आएका थिए ।

यस विषयमा प्रदेश प्रमुख नजिर मियाँ र एमालेका नेताहरूसँग मुख्यमन्त्री सोडारीले पटकपटक छलफल गरेका थिए । तर उनको प्रस्ताव मान्न एमाले तयार भएन । अन्ततः सोडारी राजीनामा दिने निष्कर्षमा पुगे ।

गएको फागुन २१ गते संघमा एमाले र माओवादीसहित समीकरण बनेपछि ७ बुँदे सहमतिमार्फत् एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा जोडिएको थियो । प्रदेश भागबण्डा गर्दा सात प्रदेशमध्ये एक प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेपछि तत्कालीन सत्ता गठबन्धनले वैशाख ५ गते सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेको थियो ।

सहमतिअनुसार वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (नाउपा) रञ्जिता समूह र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

तथापि एमाले र माओवादी लामो समयसम्म सरकारमा सहभागी भएनन् । विभिन्न बाहनाबाजीबिच एमालेले अन्तिममा समर्थन गर्ने निर्णय गर्‍यो । मुख्यमन्त्री नियुक्त भएको एक महिनामा अर्थात् जेठ ३ गते उनले विश्वासको मत पाएका थिए । त्यतिबेला विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य मत परेको थियो ।

सोडारीलाई माओवादीका १०, एमालेका ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको तीन महिना १२ दिनमा उनी राजीनामा दिन बाध्य भएका छन् । सत्ता गठबन्धनको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसको भागमा परेको छ । अब सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउनेछ ।