December 1, 2024, Sunday
१६ मंसिर २०८१, आईतवार

कञ्चनपुरमा युवतीलाई मारेको नरभक्षी बाघ नियन्त्रणमा

धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो ।

बाघले दोधारा चाँदनी नगरपालिका–२ मा २३ वर्षीया हीरा शाहलाई हिजो मारेर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो । बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिएका हुन ।

सूचना अधिकारीऐरका अनुसार नियन्त्रणमा लिइएको उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । बाघ एकदम बेहोस अवस्थामा रहेको र त्यसलाई मजगाउँस्थित निकुञ्जको हेडक्वार्टरमा पुर्‍याएर चिकित्सकको टिमले चेकजाँच गर्ने उनले बताए ।

बाघलाई हिजो दिनभरि नियन्त्रणमा लिने प्रयास असफल भएको थियो । आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन सफल भएको ऐरले बताए ।

हिजो उखुबारीमा बाघ हिँडेको हिड्यै गरेपछि प्राविधिक टोलीले बेहोस बनाउन थिएनन्। हिजो दिनभरि प्रयास गर्दा पनि सफल नभएपछि हात्तीसहितको प्राविधिक टोली रातभरि बाघको रेकी गर्दै सोही स्थानमा बसेको हो । घेरा हालेको ठाउँबाट बाघलाई अन्यत्र जान नदिन रातीभर लाइट बालिएको थियो ।

रातिभरि १० वटा ट्याक्टर चलाएर रेकी गरिएको हो । लाइट र ट्याक्टरको व्यवस्था नगरपालिकाको कार्यालयले गरेको थियो । यस्तै, भोकले उखुबारीबाट बाघ नभागोस् भनेर एउटा पाडो बाँधेर राखेकोमा त्यसलाई खाएको जनाइएको छ । बाघले मान्छे मारेपछि दोधारा चाँदनी नगर त्रसित बनेको थियो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए ।

बिहीबार मात्रै सो बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।