January 27, 2025, Monday
१४ माघ २०८१, सोमबार

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै कुनै प्राविधिक समस्या नआएमा नतिजा आज सार्वजनिक हुने जानकारी दिएकाे हाे ।  

नतिजा आज सार्वजनिक गर्ने बोर्डको बैठक बसिरहेको छ । बैठकले नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन ।

बोर्डका अनुसार यस वर्षकाे वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो । बोर्डले यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको हाे ।  

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) विधिबाट छानिएको थियो ।

‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गर्नेछ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।