April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाएका थिए।

मुख्यमन्त्रीको पत्रपछि उनले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार सुदूरपश्चिम प्रदेशसभा बैठक अपराह्न ४ बजेका लागी बोलाइएको छ। विश्वासको मत लिन प्रदेश सभा बैठकमा उपस्थित भएर सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री सोडारीको तयारी रहेको उनी निकटको भनाइ रहेको छ ।

संघमा नेपाली कांग्रेस र एमालेको सरकार बनेपछि सुदूरपश्चिम प्रदेशमा पनि एमालेले असार २० प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए।

यद्यपि  मुख्यमन्त्री सोडारीले  विश्वासको मत नपाउने निश्चित छ। किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ।

विश्वासको मत प्राप्त गर्न न्युनतम २७ सांसदको समर्थन आवश्यक रहन्छ। ५३ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्तिमा ७, एकीकृत समाजवादी पार्टी ४, राप्रपा १ र स्वतान्त्र १ सासंद छन्।

मुख्यमन्त्री सोडारीले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको पनि उनीनिकट सांसदहरू बताउँछन्। यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पनि प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा घोषणा गरेका थिए।

जेठ ६ गते नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले दुई महिना १२ दिन सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे। यो बीचमा सोडारीले चार पटक मन्त्रिमण्डल हेरफेर गरे।

facebook sharing button