April 18, 2026, Saturday
२०८३ बैशाख ५

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनै लाग्दा भौतिक मन्त्री चौधरीले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिनै लाग्दा भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री सोडारीलाई बुझाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन्। वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा चौधरीलाई नियुक्त गरेका थिए ।

‘प्रस्तुत विषयमा नेपालको संविधान १६८ को उपधारा २  को खण्ड (क) बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रीको पदबाट राजीनामा दिएको सादर जानकारी गराउँछु,’ मुख्यमन्त्री सोडारीलाई भौतिक मन्त्री चौधरीले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘तपाईंको नेतृत्वको सरकारमा रही महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न पाउँदा सुखद अनुभव रहेको हुँदा धन्यवाद ज्ञापन गर्दछु।’ 

२० असारमा अल्पमतमा परेका सोडारीले भोली विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने निश्चित छ । विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरे पनि  प्रदेश सभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री सोडारीले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । 

मुख्यमन्त्री सोडारीले राजीनामा दिनुभन्दा एक दिन पहिले भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले राजीनामा दिएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट सांसद हुँदै मन्त्री भएका थिए ।