February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

कञ्चनपुरमा बाघको आक्रमणबाट २३ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो। बाघको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको डीएसपी जोशीले जानकारी दिए । शाह विवाहित महिला हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरका अनुसार सो ठाउँमा हिजो बाघ देखिएपछि नेपाली सेनासहित निकुञ्जको प्राविधिक टोली त्यहाँ पुगेर बाघको खोजी कार्य गरेको थियो । ड्रोन उडाएर खोजी गर्दा बाघ फेला नपरेपछि निकुञ्जको टोलीले स्थानीयलाई खेतमा नजान र सतर्क रहन आग्रह गरेको थियो । आज बिहान पनि टोली पुगेर बाघ खोजी गर्दै थियो ।

सूचना अधिकारी ऐरले भने- “घटना स्थल भएको ठाउमा धान र विभिन्न प्लटमा उखु छ । हामीले आजै बाघ देखिएको एक प्लटमा त्यसको खोजी गर्दै गर्दा अर्कोतिरको प्लटबाट निस्केर काम गरिरहेको महिलालाई मार्‍यो । महिलाको मृत्यु भएपनि टाउकोमा चोटबाहेक खाएको अवस्था छैन । तानेर उखु बारीमा पुर्‍याएको थियो।”

नरभक्षी बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । महिलालाई मारेको बाघ उखुमै रहेको जनाइएको छ । बाघलाई नियन्त्रणमा लिनका लागि निकुञ्जको हात्तीसहितको टोली खटेको छ । यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि प्राविधिक टोली आइरहेको ऐरले बताए ।