बिरगञ्जबाट आएको ट्रकको सामान अनलोड गर्नेक्रमा शव फेला परेपछि…

धनगढी । धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार आइतवार बिरगञ्जबाट धनगढी आएको ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले आइतवार बिरगञ्जबाट धनगढी आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको जनाएका हुन ।
एसपी बिष्टले शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका(९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको बताएका छन्।
उनीहरु विरगञ्जबाट फलामको रड र प्लाष्टिकको बोरा ट्रकमा ल्याएर धनगढी आएका थिए । ट्रकमा भेटिएको शवबारे उनीहरुले कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र शव देखेको बयान प्रहरीलाई दिएको एसपी बिष्टले बताएका छन् ।
पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी विष्टले बताए ।
प्रतिकृया दिनुहोस्