प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हाम फालेर किशोरी बेपत्ता

धनगढी । प्रहरीले रोक्दारोक्दै एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जानकारी दिएका हुन ।
सूचना अधिकारी सिंहका अनुसार कुँवरले महाकाली नगरपालिका-४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् । प्रहरीका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन् ।
लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् ।
खोजीकार्य सुरु गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि उनी हाम फाल्नुको कारण नखुलेको दार्चुला प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।
अहिलेसम्म फेला नपरेकी र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। उनले नदीमा हाम फालेको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
प्रतिकृया दिनुहोस्