नसिव मृत्यु प्रकरण : साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले बुझे शव

धनगढी । धनगढीको नोभा अस्पतालमा मृत्यु भएका युवकका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । नोभा अस्पतालमा शुक्रवार मृत्यु भएका नसिव चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका हुन्।
नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच शनिबार बेलुका यस्तो सहमति भएको हो। मृतकका मामा फुलाराम चौधरीले भने, ‘पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप साढे १३ लाखको चेक दिइएको छ। प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति भएको छ। पोष्टमार्टम गरेर घरसम्म शव पुर्याउन पनि अस्पतालले सहयोग गर्ने सहमति भएको छ ।’
सहमतिपछि नोभा अस्पतालको वार्डमा दुई दिनदेखि राखिएको नसिवको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल लगिएको छ। ‘अहिले पोष्टमार्टम भइरहेको छ। सहमतिपछि आन्दोलनका कार्यक्रमहरूरु सबै स्थगित भएका छन्,’ फुलारामले भने।
मृतकका आफन्तहरूले चिकित्सकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै शनिबार नोभा अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। आक्रोसित पीडितका आफन्तले नोभा अस्पतालमा ढुंगामुढा गरी तोडफोडसमेत गरेका थिए।
अस्पताल तोडफोड हुन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार थियो भने पीडित पक्षका ३ जना घाइते भएका थिए। प्रहरीको लाठी लागेर बेलौरी नगरपालिका २ का लक्ष्मण बुढाको खट्टुा भाचिएको छ भने उनका छोरा अजय बुढा पनि घाइते भएका छन्। उनीहरूको धनगढीकै सारथि अस्पतालमा उपचार भइरहेको छ ।
जन्डीसको विरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका १७ वर्षका नसिव चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो। मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापबाही गरेकाले उनीमाथि कारबाहीको माग गर्दै आएका थिए।
पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेका बेला बाहिर जम्मा भएका आफन्तले अस्पतालमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। शुक्रबार मात्रै पीडितका आफन्तले नोभा अस्पतालको रिसेप्सनमा समेत तोडफोड गरेका थिए।





प्रतिकृया दिनुहोस्