April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकिएको छ । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका थिए ।

विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । संविधानको धारा १६३ को उपधारा ३ बमोजिम प्रदेश सभाको एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यले अधिवेशन आह्वान गर्न वाञ्छनीय भएको माग गर्दै लिखित अनुरोध गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखले पठाएको पत्रमा उल्लेख थियो ।

बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी सहित सत्तापक्षको उपस्थिति रहेको थिएन । बजेट शून्यताको अवस्था आएपछि प्रदेश प्रमुख मियाँले बुधबार संसद्को विशेष अधिवेशन आह्वान गरेको जनाइएको छ।

सभामुख भण्डारीले विशेष अधिवेशनको अर्को बैठक सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको बताए ।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस-एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।

एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि प्रदेश बजेट शून्यतामा गएको छ ।

सरकारले २९ असारमा प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो तर प्रदेश प्रमुखले पाँच दिनपछि ३ साउनमा अधिवेशन आह्वानसम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए । प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको चाहाना रोकिएको थियो ।