February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

कञ्चनपुरका बाढीको पीडा : १ सय ३५ जना अझै घर फर्किन सकेनन्

कञ्चनपुर । बाढी र डुबानका कारण गत शनिबार र आइतबार विस्थापित भएकामध्ये १ सय ३५ जना अझै घर फर्किन सकेका छैनन् । उनीहरू अहिले पनि विद्यालयमै बसिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिकामा ९० र भीमदत्त नगरपालिकामा ३५ जना घर फर्किन नसकेका हुन् ।

अन्य स्थानीय तहका सबै विस्थापित घर फर्किसकेका छन् । बाढी र डुबानका कारण जिल्लाभरिमा ५ हजार जना विस्थापित भएका थिए । यस्तै, गत आइतबार चौधर नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका कञ्चनपुर बेलडाँडी–३ वैवाहका डम्बर चौधरीको शव बिहीबार नेपाल–भारत सीमाभन्दा ५ किलोमिटर तल शारदा नदीमा भेटिएको डीएसपी जोशीले बताए ।

जल तथा मौसम विज्ञान विभागले गत असार २३ र २४ मा कञ्चनपुरमा भएको उच्च वर्षाको अध्ययन सुरु गरेको छ । विभागले वर्षा मापन सुरु गरेको ७८ वर्षयताकै उच्च वर्षा मापन भएको जनाउँदै त्यसको प्राविधिक सँगै अन्य विषयको अध्ययन थालेको हो । विभागका सिनियर डिभिजनल मेट्रोलोजिस्ट डा. इन्दिरा कँडेलको नेतृत्वमा तीन सदस्यीय टोलीले बिहीबार दोधारा चाँदनी पुगेर अध्ययन थालेका हुन् ।

टोलीले मापन केन्द्रका उपकरणको अवस्था सँगै वर्षाका बारेमा स्थानीयसँग समेत छलफल गर्नेछ । उपकरणहरूको अवस्था ठीक भए नभएको र त्यतिबेलाको वर्षाको अवस्थाबारे स्थानीयसँग छलफल गरिने कँडेलले बताइन् । ‘विभागको वर्षा मापनको ७८ वर्षयताकै उच्च वर्षा देखिएपछि जनचासो बढेको छ, त्यो ठीक हो वा होइन, विश्वसनीय हो वा होइन भन्ने अध्ययन गरिनेछ,’ कँडेलले भनिन् ।

असार २४ गते बिहान ८ बजेर ४५ मिनेटमा दोधारा चाँदनी वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर, वेदकोट नगरपालिका ३ हनुमाननगर वर्षामापन केन्द्रमा ५ सय ७३ दशमलब ६ मिलिमिटिर र वेदकोटकै सुन्दरपुर वर्षामापन केन्द्रमा ५ सय ५५ दशमलब ८ मिलिमिटर वर्षा भएको छ । विभागले मापन सुरु गरेयताको यो नै उच्च वर्षा हो । यसअघि सन् २०१७ अगस्ट १७ मा हेटौंडामा ५ सय १६.२ मिलिमिटर वर्षामापन भएको थियो ।

बेपत्ताको शव भारतमा भेटियो

चौधर नदीमा माछा मार्ने क्रममा बेपत्ता भएको बेलडाडी गाउँपालिका-३ वैवाहका डम्बर चौधरीको शव भेटिएको छ । डिएसपी जोशीका अनुसार बिहीबार नेपाल–भारत सीमा भन्दा ५ किलोमिटर टाढा भारतीय क्षेत्रमा शारदा नदीमा शव भेटिएको हो ।

बेलडाडी गाउँपालिका-५ झिलमिला क्षेत्रमा चौधर नदीमा माछा मार्ने क्रममा चौधरी आइतबार बेपत्ता भएका थिए । कान्तिपुरबाट