बाढी पहिरोमा परी सुदूरपश्चिममा दुई जनाको ज्यान गयो, हालसम्म ४८ जनाको मृत्यु

धनगढी। अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढी र पहिरोमा परी डडेल्धुरामा एक र डोटीमा एक जनागरी दुई जनाको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं एसएसपि दिल्ली बिस्टले दिएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो । भातकाँडास्थित खानेपानीको मुहान सफा गर्न गएका पनेरुको माथिबाट आएको पहिरोमा परी खुट्टा र ढाडमा ढुङगाले चोट लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिवारदेखि सम्पर्क बिहीन डोटीको दीपायल सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट आईतवार खोलासैन सामुदायीक बनमा वनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ४८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनएको छ ।
बाढीका कारण अहिले सम्म १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्