May 1, 2026, Friday
२०८३ बैशाख १८

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । 

तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका मोदीले आइतबार शपथ लिँदैछन्। प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा जाने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच आइतबार नै भेटवार्ताको कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।प्रधानमन्त्री सोमबार फर्कने कार्यक्रम छ।

शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको छ । छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ , मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायत शपथग्रहणमा सहभागी हुनेछन् । 

केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।

भारतमा फेरि मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू प्रमुख रहेको तेलुगु देशम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए।