June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८

धनगढी र नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो, अझै केही दिन उच्च रहने

धनगढी । पश्चिम तराईमा अत्याधिक गर्मि बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन गरेको छ।

धनगढी र नेपालगन्जको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। यो तापक्रम यसपालिकै सबैभन्दा बढी रहेको मौसमविद सरोज पुडासैनीले बताएका छन्।

मौसमविद पुडासैनीका अनुसार पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो। शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ।

धनगढी र नेपालगन्जमा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। मौसमविद् पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।

हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान ६:०० बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।