July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

पुनर्स्थापना केन्द्रमा युवकको हत्या आरोपमा १७ जना पक्राउ

धनगढी । पुनर्स्थापना केन्द्रमा हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा सुनिल शाहीको हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी (डीएसपी) कवीन्द्र बोहराले पुनर्स्थापना केन्द्रमा २५ वर्षीय शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित १७ जनालाई पक्राउ गरिएको बताएका हुन ।

वैशाख २५ मा दिउँसो पुनर्स्थापना केन्द्रका सञ्चालक र आश्रितहरूले कुटेर शाहीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मृतकको शरीर भरि निलडाम देखिएको छ ।

सूचना अधिकारी (डीएसपी) बोहराका अनुसार पक्राउ पर्नेमा बलराम खत्री, होम तामाङ, रोशन ऐर, विपुल सापकोटा, विनोद शाही, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, आकाश अधिकारी, नविन रावल, नमराज चौधरी, सञ्जिव मन्ने, सुमन भट्ट, गौरव आचार्य, कमल रिजाल र दुई जना नाबालक छन् ।

उनीहरु विरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए । आरोपीहरूबारे इलाका प्रहरी कार्यालय सुख्खडले अनुसन्धान गरिरहेको छ । लागु औषधको लत छुटाउन परिवारले शाहीलाई नयाँ बाटो पुनर्स्थापना केन्द्रमा केन्द्रमा राखेका थिए ।