April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा वैशाख २ गतेभित्र बहुमतको सरकार गठनका लागि आह्वान

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई आगामी वैशाख २ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको छ ।

यसअघि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएकाले बहुमत नपुग्ने अवस्था भएपछि बिहीबार राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख मियाँले कानुनी परामर्शपछि धारा १६८ (२) अनुसारकै सरकार गठनको आह्वान गरेका हुन् । ‘धारा १६८ (३) अनुसार मुख्यमन्त्री बने पनि विश्वासको मत लिएर १४ महिना सरकार चलाएकाले फेरि उपधारा २ मा जानु संविधान विपरीत हुन्न भन्ने परामर्श आयो’ प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले भने, ‘उपधारा ५ मा जाँदा प्रदेशसभा विघटनतिर पनि जानसक्ने भएकाले सरकार गठनको विकल्प दिनुपर्छ भनेर प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।’

दलहरूलाई ९ दिनको समय दिइएको छ । अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।