सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् ।
दिउँसो ३ बजेलाई बोलाईएको प्रदेश सभा बैठक ५ बजेसम्म विश्वासको मत लिने कार्यतालिका थियो। ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन्।
नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो। तर, नागरिक उन्मुक्ति पार्टीका केही प्रदेशसभा सदस्यले मत नदिने भएपछि मुख्यमन्त्री शाह समस्यामा परेका थिए।
विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भनेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।
नागरिक उन्मुक्तिका सात सांसदमध्ये ५ जना संस्थापक रेशम चौधरीको पक्षमा र २ जना अध्यक्ष रेशम पत्नी रञ्जिता श्रेष्ठको साथमा छन् । रेशम शाह नेतृत्वको सरकारका पक्षमा थिए भने रञ्जिता नयाँ गठबन्धनमा सहभागी हुने अडानमा थिइन् । बुधबार दुवै समूहले सांसदहरूलाई छुट्टाछुट्टै निर्देशन गरेका थिए ।
मुख्यमन्त्री शाहले बदलिएको राजनैतिक परिस्थिति र विश्वासको मत पाउने सम्भावना नरहेपछि राजीनामा दिएको बताएका छन् । उनले राजीनामा बुझाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेशका अधिकार संघले कब्जामा राखेको गुनासो गरे।
मुख्यमन्त्री शाहले आफ्नो एक वर्ष २ महिनाको कार्यकाल सफल रहेको दाबी गरे । ‘गर्नुपर्ने त धेरै थियो तर समय कम भयो, तर पनि राम्रा र केही सम्झिन लायकका काम गरेको छु । सुशासनका लागि सकेसम्मको प्रयास गरे । राम्रो भयो वा भएन, तपाईहरुले मुल्यांकन गर्ने हो’ उनले भने ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहलाई दिइको समर्थन फिर्ता लिइपछि अल्पमतमा परेका थिए। सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट एक महिना भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान छ।
मुख्यमन्त्री शाहले राजिनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी पार्टीसहितको नया गठबन्धनको सरकार गठनका लागि बाटो खुल्ला भएको छ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने गरी भागबन्डा भए पनि नयाँ मुख्यमन्त्रीमा टुंगो लागेको छैन ।
प्रदेश प्रमुख मियाँका प्रमुख स्वकीय सचिव सादिर अलीले नयाँ सरकार गठन आह्वान गर्ने विषयमा परामर्श भइरहेको बताए ।





प्रतिकृया दिनुहोस्