सुदूरपश्चिम प्रदेश सभाको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो ।
प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको हो। मुख्यमन्त्री शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक मुख्यमन्त्री शाहको आग्रहमा दुई घण्टा सारिएको जानकारी दिएका हुन । बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनेछन् तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सभाबाट विश्वासको मत फेरि लिनुपर्ने भएको हो। अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेका छन्।
मुख्यमन्त्री शाहले राप्रपालाई मनाइ रहेको बुझिएको छ। राप्रपाले भने सरकारमा सहभागि नहुने निर्णय गरेको छ। नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह रहेका छन्। यद्यपि, सत्तारूढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखा परेकाले उन्मुक्तिकै केही सदस्यबाट मुख्यमन्त्री शाहले मत पाउन नसक्ने सम्भावना देखिएको हो।
सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।






प्रतिकृया दिनुहोस्