April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, नाउपामा छुट्टाछुट्टै ह्वीप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

केन्द्रमा सत्तासमीकरण फेरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराइसकेका छन् । प्रदेशसभा सचिव देवहादुर बोगटीका अनुसार आज अपराह्न ३ बजे बस्ने बैठकमा विश्वासको मत लिर्ने कार्यक्रम रहेको छ ।

केन्द्रमा फेरिएको समीकरणसँगै प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गएको फागुन २३ मा मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानानुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।

सुदूरपश्चिम प्रदेशसभामा रहेका नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पु¥याउने रणनीतिमा मुख्यमन्त्री छन् । बहुमतका निम्ति २७ सदस्यको समर्थन आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा चर्किएको विवादले मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउन सकस छ । सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । एक पद रिक्त छ । रिक्त बझाङको प्रदेशसभा सदस्यका पदका निम्ति आउँदो वैशाखमा निर्वाचन हुँदै छ । 

सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पार्टी अध्यक्ष र संसदीय दलका नेताले अलग अलग ह्वीप जारी गरेका छन् भने एक सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पुगेको छ ।

प्रदेश सरकारमा सहभागिताको विवादले विभाजित नागरिक उन्मुक्ति पार्टीका दुई पक्षले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनेबारे छुट्टाछुट्टै ह्वीप जारी गरेका हुन्  ।

पार्टीका संरक्षक रेशम चौधरी पक्षधर सांसदहरू कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारलाई विश्वासको मत दिने अडानमा छन् । रेशम पत्नीसमेत रहेकी पार्टी अध्यक्ष श्रेष्ठ भने नयाँ गठबन्धनको सरकार बनाउनुपर्ने अडानमा छिन् ।

दुई पक्षको विवादले प्रदेश सांसद पनि विभाजित छन् । उन्मुक्तिको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीसहित पाँच जना सांसद रेशम पक्षधर हुन् । उनीहरू शाह नेतृत्वको सरकारमा मन्त्री छन् । प्रदेश सांसद कैलाश चौधरी र टीका थापा भने अध्यक्ष रञ्जिताको पक्षमा छन् ।

विश्वासको मत लिन लागेका शाहको विपक्षमा मतदान गर्न पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्वीप जारी गरेकी छन् भने नागरिक उन्मुक्तिको सुदूरपश्चिमका प्रमुख सचेतक खुसीराम डगौरा थारूले पक्षमा मतदान गर्न ह्वीप लगाएका छन् ।

विवादकै कारण अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीसमेत रहेकी सांसद इन्दिरा गिरीलाई सांसदबाट फिर्ता बोलाउन बुधबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएकी छन् । गिरी समानुपातिक सांसद हुन् ।

अध्यक्षको पत्राचारमा गिरीलाई निष्कासन गर्न मिल्ने नमिल्नेमा फरक–फरक मत आएका छन् । समानुपातिक सांसदलाई पार्टीले फिर्ता बोलाउन सक्ने एक थरी मत छ भने संसदीय दलले पत्राचार गरेमा मात्रै निष्कासन हुन सक्ने अर्को थरी मत छ । हाल नागरिक उन्मुक्तिको सुदूरपश्चिम संसदीय दलमा रेशम पक्षधर सांसदहरूको बहुमत छ ।

पूर्वमुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्याय पार्टी अध्यक्षले समानुपातिक सांसदलाई निष्कासन गर्न नमिल्ने बताउँछन् । दलसम्बन्धी ऐन २०७३ अनुसार संसदीय दलमार्फत प्रदेशसभामा पत्र जानुपर्ने उनको भनाई छ । सभामुख भीमबहादुर भण्डारीले कानुनी परामर्श गरेर निर्णय लिने बताएका छन् ।

नाउपाले विश्वासको मत दिने र नदिने पक्षमा नागरिक उन्मुक्तिका सांसदहरू विभाजित भएपछि कांग्रेसले आवश्यक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सांसदहरूका अनुसार बैठक अहिले बसिरहेको छ ।

बैठकले विश्वासको मत परीक्षणमा जाने वा पदबाट राजीनामा गर्ने टुंगो लगाउने एक सांसदले बताए । ‘नागरिक उन्मुक्तिका सांसद एक ढक्का नभएसम्म विश्वासको मत पुग्ने अवस्था देखिन्न । त्यसैले सबै सम्भावनामाथि छलफल हुदैंछ,’ ती सांसदले भने ।

मुख्यमन्त्री शाहलाई विश्वासको मतका लागि २७ मतको आवश्यकता छ । हाल कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात सांसद छन् । नागरिक उन्मुक्ति एक ढिक्का भएमा एक सांसद रहेको राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थन लिएर विश्वासको मत प्राप्त गर्न सकिने आकलन मुख्यमन्त्रीको थियो ।

तर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शाहलाई विश्वासको मत नदिने अडान लिएपछि कम्तीमा उनी पक्षधर दुई सांसदले अहिलेकै अवस्थामा विश्वासको मत नदिने अडान लिएका छन् ।

सरकारमै रहेका नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षधर पाँच जना सांसद विश्वासको मत दिने पक्षमा भए पनि सांसद कैलाश चौधरी र टीका थापा विपक्षमा छन् । उनीहरू काठमाडौंमै छन् । एक जना मात्रै पनि अनुपस्थित भए शाहलाई विश्वासको मत पुग्दैन । त्यसैमा हाल काठमाडौंमै रहेका स्वतन्त्र सांसद ताराप्रसाद जोशीले पनि २६ मत पुग्ने अवस्थामा सरकार आफूले मत दिने भए पनि त्यो अवस्था नदेखिएकाले आफू पनि अनुपस्थित रहने बताएका छन् ।