April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

धनगढीबाट उडेको श्री एयरको जहाज अढाई घण्टा आकाशमै भएपछि…

धनगढी। धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेको छ । आज बिहान ७:१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न नसकेपछि २ घण्टा २२ मिनेट आकाशमा उडेको हो ।

श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले बिहान ७:१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको बताएका हुन ।

ईञ्चार्ज शाहीले विहान काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए । तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा गएर अवतरण गरेको बताए ।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए । अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए ।

५० मिनेटमा काठमाण्डौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्क बिहीन भएपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए । धनगढीबाट उडेको जहाजले काठमाण्डौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो ।

यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए। कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो। त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो।

यात्रुहरु निकै आत्तिएका थिए। यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन् ।

जहाजमा रहेकाहरुमा बाँच्ने आशा समेत क्षीण भईसकेको थियो । काठमाण्डौंबाट फिर्ता भएको जहाज धनगढीबाट उडेको झण्डै अढाई घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरु रोईरहेका थिए ।

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान प्रभावित भएको जनाएको छ । छुन्देबाट  आएको एयर चाइनाको जहाज अवतरण गर्न नसकेर डाइभर्ट भएको छ । अहिले ट्रकिस एयरलाइन्स, सिचुवान एयरलाइन्स, नेपाल एयरलाइन्स जहाजले ओभर सुट गरिरहेका छन् । 

डमामबाट आएको नेपाल एयरलाइन्स, टर्कीको स्तानबुलबाट आएको टर्किस एयरलाइन्स र छन्डुबाट आएको सिचुवान एयरले ओभर सुट गरिरहेका छन् । आन्तरिकतर्फका उडान पनि प्रभावित भएको छ ।