April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

मुख्यमन्त्री शाहले नाउपाका दुई मन्त्रीको तोके जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । हिजो राति मुख्यमन्त्री शाहले दुई विनाविभागीयमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको हो ।

जिम्मेवारीको पत्र समेत बुझिएका ती दुई मन्त्रीहरूको आज ११ बजे औपचारिक रूपमा पदभार ग्रहण हुने जनाइएको छ । मुख्यमन्त्री शाहले नाउपाले समर्थन फिर्ता लिनेसम्मको निर्णय गरेपछि नाउपाकै मन्त्रीलाई जिम्मेवारी दिन लागेका हुन् ।

नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले पनि मुख्यमन्त्री शाहले दुईमन्त्रीको जिम्मेवारी तोकेको पुष्टि गरेका छन् । मुख्यमन्त्रीसँगको छलफलमा विनाविभागीय मन्त्री लक्ष्मण चौधरीले काम गर्ने गरि जिम्मेवारी दिन भनेका थिए ।

सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् । अहिले काङ्ग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको काङ्ग्रेसबाट मुख्यमन्त्री सहित ३ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् ।

माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदापनि अझै २ सांसदको अभाव छ । नाउपामा पनि अहिले काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ । पार्टी केन्द्रले नयाँ गठबन्धनमा जाने निर्णय गरेको छ भने प्रदेश संसदीय दलका बहुमत सदस्य काङ्ग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहन्छन् ।