सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्री शाहले सञ्चारकर्मिसँगको कुराकानीमा सो तयारीबारे जानकारी दिएका हुन्।
अहिले सङ्घीय सरकारमा नेकपा एमाले र माओवादी केन्द्र सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
सङ्घीय सरकारमा नयाँ समीकरण निर्माण गरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले सैविधानिक ब्यबस्था अनुसार आगामी २२ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्दछ ।
आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका छन् ।
सञ्चारकर्मिले विश्वासको मत कहिले लिनुहुन्छ भन्ने जिज्ञासामा मुख्यमन्त्री शाहले भने, “हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरूसँग छलफल जारी नै छ । सहमतिको नजिक नजिक छौँ ।” अन्तिम सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए ।
मुख्यमन्त्री शाहले सरकारले सदनमा विश्वासको मत प्राप्त गर्नेगरी “मन मिल्ने पार्टी र सांसदसँग छलफल भइरहेको” बताए । भने- “हामी सबैसँग निरन्तर छलफल र संवादमा छौं । लगभग सहमतिको नजिक पुगिसकेका छौ । अन्तिम टुंगो लाग्न बाँकी छ, तर म ठोस सहमति हुनेमा विश्वस्त छु ।”
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यलाई दुई साताअघि मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री शाहले राप्रपाका एक मात्र प्रदेश सभा सदस्य खिमादेवी विष्ट र स्वतन्त्र तारा जोशीलाई साथमा लिएर मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेका छन् ।
मुख्यमन्त्री शाहलाई बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्दछ । शाहलाई कांग्रेस, नागरिक उन्मुक्ति, स्वतन्त्र र राप्रपाले पक्षमा मतदान गरेमा आवश्यक सङ्ख्या ठ्याक्क २७ पुग्छ ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।





प्रतिकृया दिनुहोस्