May 1, 2026, Friday
२०८३ बैशाख १८

गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी परेको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले समितिमा निवेदन दिएका हुन् ।

सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।

 ‘सहकारी सञ्चालकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ तर अहिलेको यो सरकारलाई यो जिबी राई भन्ने नाम र सूर्यदर्शन भन्ने सहकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि परराष्ट्रमन्त्रीका साथै सिङ्गो राष्ट्रको प्रहरी प्रशासनको टाउको दुखाई बनिरहँदा पनि बाँकी अभियुक्तहरू किन पक्राउ पर्दैनन् ?’समिति सभापतिलाई पीडितहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरूले सूर्यदर्शन सहकारीमा समस्या आएयता तीन चार पटक सरकार परिवर्तन भए पनि बचतकर्ताको पीडा २० को १९ नभएको बताएका छन् । उनीहरूले सुशासनको कुरा गर्नेहरूलाई प्रश्न समेत गरेका छन् । ‘कसले किन लुकाई राखेका छन् जिबी राईलाई हामीलाई जबाफ चाहिएको छ, जिबी राईलाई पक्राउ गरी ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ त्यसको हिसाब किताब यो राज्य सरकारले गरिदिनु पर्‍यो’, उनीहरूले भनेका छन्, ‘हामी कति समय पीडामा बस्ने हो, हाम्रो यो सहकारीको समस्या कहिले समाधान हुन्छ यसको मिति पनि यो राज्य सरकारले तय गरिदिनु पर्‍यो ।’

433195141_399074539497150_1315143935454090918_n
433208885_1094953325101986_660116675245071223_n
433457139_1096053805021657_7916781037208514240_n
432228315_1573231250214985_3270338828505355956_n