May 1, 2026, Friday
२०८३ बैशाख १८

कृष्ण महराको विषयमा माओवादी पदाधिकारी बैठक अनिर्णित

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा माओवादी अनिर्णित भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको थियो । यद्यपि छलफल जारी रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको भनाइ छ । ‘हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं, छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छौं,’ प्रवक्ता सापकोटाले भने ।

आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए । बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो ।

केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । यसबारे अब बस्ने बैठकमा थप छलफल हुने बताइएको छ ।

कपिलवस्तुबाट सोमबार पक्राउ परेका महरालाई सोही दिन भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।