April 18, 2026, Saturday
२०८३ बैशाख ५

नागरिक उन्मुक्तिको बैठक बस्दै, सुदूरपश्चिम प्रदेश सरकारको विषयमा छलफल हुने

धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्ने भएको छ । सुदूरपश्चिम संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले संसदीय दलको बैठक दिउँसो २ बजे आह्वान गरिएको जानकारी दिएका हुन ।

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् ।

अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएको प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म समर्थन छ ।

अहिले प्रदेश सरकारमा नाउपाका सात सांसद मध्ये पाँच जना मन्त्री छन् । केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार धरापमा रहेको छ ।

अहिले सम्म सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नाउपाले समर्थन फिर्ता लिएको छैन । आज समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय हुने नाउपाका नेताहरूले दाबी गरेका छन् ।

नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद छ । श्रेष्ठले सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिए पनि चौधरीले समर्थन कायमै रहेको बताएका थिए ।

विवादकैबीच नाउपाका बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका बेला अध्यक्ष श्रेष्ठले भने ह्वीप जारी गर्दै विश्वासको मत दिएकी थिइन् ।

सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बहुमतको सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । यी दुई दल मिल्दा पनि सुदूरपश्चिम प्रदेशमा राप्रपाका १ र स्वतन्त्र १ सांसद सरकार बनाउन निर्णायक हुन्छन् ।