नाउपामा देखियो विवाद : सुदूरपश्चिम सरकारबाट फिर्ता हुन मन्त्रीलाई निर्देशन

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ । नाउपाकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशमा रहेको कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी हुन ।
पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष श्रेष्ठले तत्काल फिर्ता हुन निर्देशन दिएको बताएकी हुन् । ‘संघीय सरकारमा हामी नयाँ गठबन्धनमा सत्तापक्षको बेन्चमा बसेका छौं तर त्यहाँ साथीहरु नेतृत्वसँग सल्लाह नै नगरी मन्त्री बन्नुभएको रहेछ । मैले उहाँहरुलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएकी छु,’ अध्यक्ष श्रेष्ठले भनिन् ।
मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन निर्देशन दिए पनि पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले कारबाही गर्ने चेतावनी दिइन् । टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा उत्कर्षमा पुुगेको छ ।
रेशमकै अगुवाईमा शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए ।
अध्यक्ष चौधरीले सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताईन । ‘म विरामी थिए, तर म सँग कुनै सरसल्लाह नै नगरि मन्त्रीको सपथ खाएका रहेछन । पार्टी विधि विधानबाट चल्नुपर्छ’ उनले भनिन । ‘आजै सरकारबाट फिर्ता भएको निर्णय हुन्छ ।’
अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जीता बीच सरकारमा जाने वा नजाने बारे विवाद देखिएको छ ।सरकारमा गएका दलका नेतासहित प्रदेश सभा सदस्य पार्टीका संरक्षक रेशम चौधरी निकट मानिन्छन् ।
रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षमा निरन्तरता नदिएपछि श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई पार्टी सञ्चालन गर्ने अधिकार मिलेको थियो । रेशमको जोडबलमा सरकारमा गएका प्रदेश सभा सदस्यहरुलाई पार्टी अध्यक्षले फिर्ता हुन निर्देशन दिएपछि उनीहरु नैतिक संकटमा परेका छन् ।
माओवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने कसरत गरिरहेका छन् ।
राप्रपा र स्वतन्त्र सांसदले नाउपाको भूमिका स्पष्ट नभएको बताएपछि शाहले नाउपाबाट मन्त्री थपेका थिए ।





प्रतिकृया दिनुहोस्