April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मन्त्री हटाइए

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीलाई हटाएका छन् । एकीकृत समाजवादीका तर्फबाट आर्थिक मामिला मन्त्री नरेशकुमार शाही सरकारमा सहभागी रहेका थिए ।

मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अब कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघिकै सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले सरकारको साथ छाडेको त छैन तर कांग्रेस र नागरिक उन्मुक्ति पार्टी मात्रले सरकारलाई बहुमत पुग्दैन । कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात सांसद छन् ।

सरकारको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । योसँगै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

यससँगै सुदूरपश्चिममा सरकार गठनको प्रक्रिया जटिलतातर्फ मोडिएको छ । नागरिक उन्मुक्तिले अझै कुनै निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्तिले सघाउने निर्णय नगर्दासम्म नयाँ गठबन्धनको सरकार गठन हुने अवस्था छैन भने एकीकृत समाजवादीले साथ छोडिसकेको अवस्थामा कांग्रेस नेतृत्वको पुरानो गठबन्धनको पनि बहुमत पुग्ने अवस्था छैन ।