सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादीका मन्त्री बर्खास्त, कांग्रेसद्वारा कर्णालीमा दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादीका मन्त्री बर्खास्त भएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
केन्द्रमा कांग्रेस(माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएकाे जानकारी दिएका थिए ।
सरकारमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे प्रदेश सरकारको बहुमुत पुग्छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादी का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।
कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसद्वारा फिर्ता
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।
राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएकाे बताए। कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।
कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।





प्रतिकृया दिनुहोस्