April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

एमाले कैलालीमा नेतृत्व चयनका लागि आज मतदान, त्रिपक्षीय प्रतिस्पर्धा हुने

धनगढी । नेकपा एमाले कैलालीको सुखडमा जारी नवौं अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेपनि समय अभाबका कारण मतदान आजलाई सारिएको हो ।

निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो तर मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण मतदान आजलाई सारिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताए ।

प्रमुख निर्वाचन अधिकृत जोराका अनुसार आज बिहान १२ देखि १ बजेसम्म मतदानको समय तय गरिएको छ ।

मतदानको समय तय गरिएसंगै एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा बर्तामान कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन् ।

अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य कमलसिंह रानाले भने पाण्डेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ ।
त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् । 

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कैलाली जिल्लाको नवौँ अधिवेशनको सुखडमा उद्घाटन गरेका थिए । 

सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । ओलीले उक्त दिन रातभर सहमतिको प्रयास गर्न निर्देशन दिंदै नेताहरूलाई नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया थाल्न भनेका थिए ।

तर बुधबारसम्म सहमतिको प्रयास जारी राखेका नेताहरूले सहमति नहुने अवस्था आएपछि मतदान गर्नुपरेको बताएका छन् ।