April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेकपा माओवादी केन्द्रले गर्‍यो सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज प्रदेश सभा सचिवालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले खगराज भट्टलाई परिवर्तन गरेर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको हो ।

धामी यस अघि प्रमुख सचेतक थिए । सभामुख सहित ११ जना प्रदेश सभा सदस्यहरू मध्ये ६ जनाले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेका हुन् ।

प्रदेश सभा सदस्य शिवसिह ओलीका अनुसार आज बसेका संसदीय दलको बैठकमा बहुमत सदस्य अथवा ६ जनाले दलको नेता परिवर्तन गरे। बैठकमा प्रदेश सभा सदसस्य मानबहादुर धामी,अक्कल रावल, शिवसिह ओली, ओमविक्रम भाट (सरल), लक्ष्मी विक र गीता मालको उपस्थिति रहेको थियो ।

बहुमत सदस्यहरुले नेता परिवर्तन गरी सभामुख भीम बहादुर भण्डारीलाई जानकारी समेत गराई सकिएको प्रदेश सभा सदस्य ओलीले बताए ।

दलको नेताबाट हटाउँदा खगराज कांग्रेसको पार्टी कार्यालयमा थिए, के भने ?

प्रदेशसभाका बहुमत सांसदले दलको नेताबाट हटाउने निर्णयपछि प्रदेशसभा सदस्य खगराज भट्टले त्यसबारे समग्र समिक्षा गरिने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकाहरुलाई बधाई दिन सत्तारुढ गठबन्धनले आयोजना गरेको कार्यक्रममा रहेका भट्टले अहिले नै बोल्न हतार हुने बताएका हुन् ।

‘अहिले म राष्ट्रियसभा सदस्यलाई बधाई दिन आयोजना गरिएको कार्यक्रममा छु,’ भट्टले भने, ‘यो विषयमा अहिले केही छैन । त्यसको समग्र समिक्षा गरिएला ।’ सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसको धनगढीस्थित पार्टी कार्यालयमा आयोजना गरेका बधाई कार्यक्रममा सहभागी भएका बेला नै माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेका थिए ।

दलको उपनेताको अध्यक्षमा बसेको बैठकमा भर्खरै हटाइएका दल नेता भट्ट, मन्त्रीद्धय रमेश धामी र झपट साउँद तथा प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर बाहेकका ६ जना सांसदको सहभागिता रहेको थियो ।

मन्त्रीहरू तत्काल फिर्ता हुँदैनन् : धामी

बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने प्रतिक्रिया दिएका छन् ।

‘बहुमतबाट निर्णय भएपनि तत्काल हामी मन्त्रिपरिषद् पुनर्गठन वा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदैनौँ । नेता परिवर्तन भएपनि संसदीय दलमा सबैलाई मिलाएर लैजान्छु’, धामीले भने ।

दलको निर्णय पार्टी कमिटीलाई समेत जानकारी गराइसेको धामीले बताए । यसअघि धामीले प्रदेशसभामा दोस्रो ठुलो दल हुँदासमेत संसदीय दलका नेता भट्टले कांग्रेससामु  निरीहता देखाएको आरोप लगाएका थिए ।

सरकारको काम कारबाही पारदर्शी नभएको, जबाफदेहिता नभएको, कांग्रेसले सिङ्गो पार्टी सिस्टम जस्तो गरी सरकार चलाएको, माओवादीका मन्त्रीहरू निरीह भएको लगायत आरोप लगाउँदै सरकारबाट मन्त्री फिर्ता र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने माग दाबीसहित प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकलम दाहाललाई धामी लगायतका नेताहरुले पत्र नै बुझाएका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले ग्रिन सिग्नल दिएपछि सुदूरपश्चिम माओवादी संसदीय दलको नेता परिवर्तन भएको माओवादी नेता कार्यकर्ताहरुको बुझाइ छ ।