April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा एक हजारबढी खाद्य तथा दाना नमुनाहरूको विश्लेषण

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले प्रगति विवरण सार्वजनिक गर्दै ६ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा आद्य तथा दाना नमुनाको विश्लेषण गरेको जनाएको हो ।

दोस्रो त्रैमासिकमामात्रै खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नवीकरणका लागि सङ्कलित १२७, अनुरोध भई आएका १६, बजार अनुगमनबाट सङ्कलित २० र अनुसन्धानात्मक १२४ गरी जम्मा २८७ नमुना विश्लेषण गरेको प्रमुख हरिसिंह बोहराले जानकारी दिएका हुन।

यस्तै, आधा वर्षको अवधिमा खाद्यले १० वटा प्रतिकूल नमुना उपर मुद्दा दायर गरेको छ । कैलालीमा दुई, कञ्चनपुरमा पाँच, कैलाली जिल्ला अदालतमा दुई र कञ्चनपुर जिल्ला अदालतमा एक वटा मुद्दा दायर गरेको जनाइएको छ । 

दोस्रो त्रैमासिकमा खाद्यले ५९ पटक खाद्य बजार, ३८ पटक खाद्य उद्योग र ४६ पटक होटल रेस्टुरेन्ट अनुगमन गरेको छ । 

यसैगरी, छ महिनाको अवधिमा १४७ वटा खाद्य तथा दाना नमुना सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म खाद्यले नमुना विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नवीकरण र सिफारिस दस्तुर बाफत दुई लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

खाद्य स्वच्छता कायमका लागि प्रयोगशाला परीक्षण आवश्यक रहेको प्रमुख बोहराले बताए । यद्यपि, भौतिक संरचनाको अभावका कारण प्रयोगशालामा नमुना परीक्षणमा समस्या भइरहेको उनले उल्लेख गरे । 

चाउमिन, चिकेन राइस लगायतका खानेकुरामा अत्यधिक रङ्गको प्रयोग हुने गरेको देखिएकोले त्यसरी रङ्गको प्रयोग गर्ने कार्य रोक्नमा सरोकारवालाले ध्यान दिनु पर्ने उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिमका सचिव भोजराज जोशीले जोड दिए ।