मुख्यमन्त्री शाहले दिए डिआईजी केसीलाई निर्देशन, लागु औषधका मुख्य व्यापारी र एजेण्टलाई पक्राउ गर्नु

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लागु औषधका मुख्य व्यापारी र एजेण्टलाई पक्राउ गर्न निर्देशन दिएका छन् । युवाहरु लागु औषध तथा दुव्र्यसनको शिकार भएको भन्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीलाई यस्तो निर्देशन दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा लागु पदार्थ तथा दुव्र्यसनको अवस्था भयावह छ । प्रदेश सरकारका लागि यो सबैभन्दा ठूलो चिन्ताको विषय हो, मुख्यमन्त्री शाहले भने, यसको जरैसम्म नपुगी यो अवस्थाबाट हामी पार पाउदैनौ । त्यसका लागि डिलर र एजेण्टलाई पक्राउ गर्नुपर्छ । प्रदेश सरकार त्यसका लागि प्रहरीलाई आवश्यक सहयोग गर्न तयार छ ।
सुदूरपश्चिममा लागु औषधको मुख्य कारोवार गर्ने डिलर एजेण्टहरु नियन्त्रणमा नआए लागु औषध तथा दुव्यर्सनको अवस्था थप भयावह हुने मुख्यमन्त्री शाहले बताए । मुख्यमन्त्री शाहले राजनैतिक दवाव र प्रभावमा नपरी कानुनी व्यवस्था कायम गर्न डिआईजी केसीलाई निर्देशन दिएका हुन ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रदेश सरकारका तर्फबाट कहीकतै दवाव हुदैन । मुख्यमन्त्री शाहले भने, त्यसका लागि हाम्रो पूर्ण साथ, सहयोग र समर्थन रहनेछ ।
डिआईजी केसीले मुख्यमन्त्री शाहले दिएको निर्देशन निष्ठापूर्वक जिम्मेवारी निर्बाह गर्ने प्रतिबद्धता गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने सवालमा कहिल्यै नचुक्ने बताए । डिआईजी केसीले लागु औषधका कारोवारलाई जरैबाट उखेल्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएर दुई अघि आएका डिआईजी केसीले मंगलवार मुख्यमन्त्री शाहसंगको भेटमा यस्तो प्रतिबद्धता गरेका हुन् ।





प्रतिकृया दिनुहोस्