February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक पारित हुन्छः मन्त्री साउद

बैतडी । परराष्ट्रमन्त्री एनपी साउदले संसदको आगामी अधिवेशनबाट टिआरसी विधेयक पारित हुने बताएका छन्। बैतडीको दोगडाकेदारमा आयोजित साँस्कृतिक महोत्सवको उद्घाटन गर्न आइपुगेका मन्त्री साउदले पीडितलाई न्याय दिने किसिमले शान्ति प्रक्रियालाई टुंग्याउन लागिएको प्रष्ट पारेका हुन।

परराष्ट्रमन्त्री साउदले सबै दलहरुको सहमतिअनुसार पारित गर्ने गरेर विधेयक संदनमा लैजान लागेको बताए। ‘आगामी अधिवेशनमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सरकारले विधेयक संसदमा लैजाँदै छ,’ उनले भने ‘यो विधेयक पारित भैसकेपछि संसारभरी नेपालको शान्ति प्रक्रियाको मोडेल स्थापित हुँदैछ। त्यो काममा अहिले हामी लागेका छौं।’

मन्त्री साउदले सरकारले पछिल्लो एक बर्षमा बदनाम हुने कुनै काम नगरेको दाबी गरे। उनले भने ‘सरकारले टाउको निहुराउने किसिमले, लज्जाबोध हुने किसिमले अहिलेसम्म कुनै काम गरेको छैन। खस्केको अर्थतन्त्र उकास्ने, बिग्रे–भत्केको हाम्रो प्रशासन तन्त्रलाई सुशाशनको बाटोमा लैजाने भनेर हामी लागिपरेका छौं।’

मन्त्री साउदलाई स्थानीयले मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटमा पक्की पुल र महाकाली करिडोर कहिले बन्छ भनेर प्रश्न गरेका थिए। जवाफमा साउदले दार्चुलापछि बैतडी झुलाघाट र डडेल्धुराको शीर्षमा महाकालीमा मोटरेबल पुल बन्ने तयारी भइरहेको बताए। दुबै पुलको लम्बाई पाँचदेखि ६ सय मिटर हुने उनले बताए।

त्यस्तै दार्चुलाको उत्तरी भेगमा झोलुंगे पुल बनाउँछौ भनेर भारतलाई अनुरोध गरेको समेत उनले जानकारी दिए। ‘यसमा हाम्रो विज्ञता भएकाले अनुमति मात्र दिनुहोस्, हामी बनाउँछौ भनेर परराष्ट्र मन्त्रालयले लिखित रुपमा पठाएको छ,’ उनले भने।

महाकाली करिडोर सरकारको उच्च प्राथमिकतामा रहेको समेत मन्त्री साउदले जिकिर गरे। महाकाली करिडोरमा सरकारले यो बर्ष अर्ब रुपैयाँ विनियोजन गरेको बताउँदै उनले थप रकमको व्यवस्था गर्न अर्थमन्त्री र प्रधानमन्त्रीसमक्ष अनुरोध गर्ने प्रतिबद्धता गरे।