February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

भूकम्पमा भत्किएको घर पुनः निर्माणको प्रतीक्षामा बझाङका भूकम्प पिडीत

बझाङ। गत असोज १६ गतेको भूकम्पले मष्टा गाउँपालिका–५ किनाडाकी झुपू आग्रीको घर छियाछिया भयो। केही दिन त्रिपालमा बसे पनि अहिले त्यही घरमा उनको बसोबास छ। कुन दिन चर्किएको घरले आफूलाई पुर्छ भन्ने पीरबाट उनी मुक्त भएकी छैनन्।

७० वर्षीया झुपूको काँधमा अहिले घरको सम्पूर्ण जिम्मेवारी रहेको छ। ससाना नातिनातिनाको हेरचाहमै दिन बित्ने गरेको उनले सुनाइन्। करिब ३० वर्ष अगाडि श्रीमान् गुमाएकी झुपूले दुःखका पहाड झेल्दै छोराछोरीलाई हुर्काइन्। ‘अब त बुढेसकालमा आनन्दले मर्न पाइने सोचेको प्रकृतिले सिकार बनाउँदै छ’, उनले भनिन्। उनको गाउँमा कमाइ खाने जमिन छैन भएको जमिन पनि भिरालो छ।

‘आकाशे पानीकै भर पर्नुपर्छ। पानीको समस्याले बारीमा लगाएको खुर्सानीसमेत हुर्कन पाउँदैन।’ उनले भनिन्, ‘जिन्दगी केही रोगले केही शोकले नै सक्यो। अहिले यो सुक्खा डाँडामा नाति नातिनाको ग्वालो (हेरचाह गर्ने व्यक्ति) हुनुपरेको छ। यही रहेछ जिन्दगी! ’भारतमा गएका छोरा बुहारीले कमाएको पनि आफूलाई खानै नपुग्ने उनले बताए।लामो समय झुपूका छोरा विनोद गाउँमै पूख्र्यौली पेशालाई निरन्तरता दिँदै आएकी थिइन्। आरन सम्हालेपछि आएको खलो (काम गरेबापत साहुले दिने अन्न) ले खान पुग्ने र बाँकी समय मजदुरी गरेर आएको पैसाले उनले एक दशकअघि घर बनाएको सुनाइन्।

गत असोजको भूकम्पले ऋण काढेर बनाएको घर भत्किएपछि अहिले झुपु निकै तनाबमा छिन्। घर निर्माण गर्ने उद्देश्यले छोरा विनोद र बुहारी भारतमा मजदुरी गर्न गएको झुपूले बताइन्। बाहिरबाट हेर्दा राम्रै देखिने तर भित्र बस्ने अवस्था नै नभएपछि केही समय त्रिपालमै बसेको उनले सुनाइन्। ‘खानलाई अन्न छैन, लगाउनलाई लुगा छैन, न खानेपानी नै छ। एउटा संस्थाले दिएको रु १५ हजार राहत रकम छोरा बुहारीले बाटो खर्च लिए।’ उनले भनिन्।

विनोद गाउँका अन्य दाजुभाइसँगै भारतको उत्तराखण्डमा खणीखानीमा काम गर्न गएका छन्। हरेक वर्ष हिउँदमा कमाएर ल्याएको पैसाले वर्षभरि खानुपर्ने हुँदा घरमा बचत नहुँने झुपूले बताइन्। ‘घर बनाउनका लागि छोरा विनोदले छिमेकीलाई ढुङ्गा फुटाउने जिम्मा दिएको छ।’ उनले सुनाइन्, ‘दैनिक जीवनयापनका लागि परम्परागत आरन पेशाबाट पनि केही हुँदैन। छोराको कमाईले घर बनाउने हो कि हाम्रो पेट भर्नेरु’ उनी भन्छिन्।

मष्टा गाउँपालिकामा भूकम्पपछि सरकारबाट स्थानीयले राहतको महसुस गर्न पाएका छैनन्। नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लूए) गाउँपालिकाभर चार सय ८१ पीडित परिवारलाई रु १५ हजारका दरले गरेको आर्थिक सहयोगबाहेक सरकारबाट केही नपाएको स्थानीय रामवीर बोहराले बताए। बोहराका अनुसार सरकारले तथ्याङ्क सङ्कलन गरेको छ। ‘राहत दिने पनि भनेको छ। हामीले राहत कहिले पाउँछौँ, हाम्रो घर कहिले बन्छ ? केही अत्तोपत्तो छैन।’ उनले भने। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गरेको राहत प्राप्तिको आशामा बसेको बताउँछन्। रासस