एक युवकको सामुहिक कुटपिटबाट मृत्यु, घटनामा संलग्न ७ जनालाई प्रहरीले गर्यो सार्वजनिक

धनगढी । विवाहमा गएका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ। प्रहरीका अनुसार कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो।
सामुहिक कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो।
अधिकारीमाथि लम्कीका युवाहरुले कुटपिट गरेका थिए। मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो।
कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष बस्यालका अनुसार अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका-९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए।
त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए। इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेका थिए।
‘उनीहरू धेरै संख्यामा थिए। मदिराले लठ्ठ थिए। मोहनका साथीहरू भने धेरै रहेनछन्। त्यसैले उनीमाथि त्यो समूहले निर्घात कुटपिट गरेछ,’ इन्स्पेक्टर बस्यालले भने।
घेराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो।
अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।
प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लम्की-चुहा नगरपालिका-९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सबै व्यक्ति लम्की चुहान नगरपालिका वडा नम्बर ९ का हुन्।
प्रतिकृया दिनुहोस्