April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीको बडिकेदार गाउँपालिकाले दियो १० गते सार्वजनिक बिदा

डोटी । डोटीको बडिकेदार गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिएको छ । ठुलीकेदार धाममा मेला लाग्ने भएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै १० गते सार्वजनिक बिदा दिइएको जनाएको हो ।

हरेक वर्ष डोटीको प्रसिद्ध ठुलीकेदार धाममा लाग्ने मेलाको अवसरमा एक दिन बिदा दिइएको गाउँपालिकाले जनाएको छ । बडिकेदार गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालयहरु, गैरसरकारी संघ सस्थाहरु बितिय सस्था र बिधालयहरु बन्द हुने छ्न । यस बर्ष ठुलीकेदार धाममा मंसिर ८,९ र १० गते मेला लाग्ने छ ।

ठुलीकेदार धाममा मेला भर्न नेपालसहित भारत र अन्य मुलुकबाट समेत भक्तजन तथा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित ठुलीकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ ।

समुद्री सतहदेखि १ हजार ८ सय मिटर उचाइमा रहेको ठुलीकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा गर्ने गरिन्छ ।

सुदूरपश्चिम प्रदेशकै धार्मिक आस्थाको धरोहरको रुपमा प्रसिद्ध ठुलीकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । ठुलीकेदार धाममा रहेको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको ठुलीकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ ।

किवदन्ती अनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर ठुलीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि त्यस क्षेत्रका गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् ।

सन्तान प्राप्त नभएदम्पती समेत पुत्रलाभको कामना गर्दै ठुलीकेदारमा पुग्ने गर्छन् । सन्तान नभएकालाई सन्तान लाभका साथै मनोकांक्षा पूरा हुने भएकाले स्वदेश तथा विदेशबाट समेत दर्शनार्थी आउने गर्छन् । भक्तजनहरुले जे सोचेर ठुलीकेदारको पूजाआजा गर्यो त्यो पूरा हुने धार्मिक बिश्वास रहि आएको स्थानीयहरु बताउछन् ।